Header Ads

श्रीमानको जवाफ : ‘बरु तँलाई छोड्छु, सुर्ती छोड्न सक्दिनँ’


भक्तपुर, १७ जेठ । ‘बरु तँलाई छोड्छु, सुर्ती छोड्न सक्दिनँ’ भन्ने जवाफ श्रीमानबाट पाएपछि ताथली, भक्तपुरकी सामाजिक परिचालिका मेनुका थापालाई अचेल समाजमा धुम्रपान विरुद्ध बोल्न असहज हुन थालेको छ ।

स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल,भक्तपुरले बुधबार ताथली स्वास्थ्य चौकीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सामाजिक परिचालिका थापाले दुखेसो पोख्दै भनिन्,‘सर मिसहरुले भनि दिनु प¥यो यस्तो जवाफ दिनेहरुलाई कसरी सम्झाउनु ?’

सुर्ती सेवनबाट क्यान्सर, मुटुरोग, दमखोकी, क्षयरोगलगायतका रोग लाग्छ भन्ने कुरा परिचालिकाले घरमा सम्झाउँदा सम्झाउँदा आजित भइसकेका छन् । बरु उनका छोरा मनिष थापाले जीन्दगीमा सुर्तीको छेउमै नपर्ने प्रतिवद्धता बारम्बार गरेपछि उनी निर्धक्क भएकी छिन् । छोरा थापाले सोही कार्यक्रममा आमाबाट धेरै कुरा सिकेको र आफू पनि जनचेतना जागृत गर्न लागि पर्ने बताए ।

स्वास्थ्य मन्त्रालय, प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रलगायतले उपलव्ध गराएको पोस्टर, पम्प्लेट, ब्रोसरमा उल्लेख गरिएका डरलाग्दा क्यान्सरका फोटाले पनि प्रभाव नपरेपछि आफू आजित नभएको र हार नमानेको सामाजिक परिचालिका थापाले कार्यक्रममा बताइन् ।

थापालाई मात्र हैन स्वास्थ्य स्वय्मसेविका कल्पना खड्कालाई पनि सोही प्रकारको समस्या रहेको छ । उनले पनि परिवारमा दाजुभाइ र साथीभाइलाई सम्झाउन कठिन भएको छ ।

जनस्वास्थ्य निरिक्षक हरिनारायण शाहले पनि यस्ता मान्छे भेटेका छन्, जो श्रीमति छोड्न तयार छन् तर सुर्ती छोड्न तयार छैनन् । उनले कार्यक्रममा भने,‘ विद्यालय र समाजमा सुर्तीसम्वन्धि चेतना जागृत गराउँदा बालबच्चा र महिलाहरु कन्भिस हुन्छन र घरमा सम्झाउन खोज्छन् ’ तर श्रीमान् र बुबाले नमानेको जवाफ पाएर उनी पनि हैरान छन् ।

यस सम्वन्धमा स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण जिल्ला सञ्जालकी संयोजक रत्नश्वरी चवालले भनिन्,‘ सुर्तीमा रहेको निकोटिनको लत कति खतरनाक छ भने कुरा यसले पुष्टि गर्छ। परिवार छाड्न सक्ने जवाफ दिलाउने सुर्तीलाई अब नियमन मात्र हैन नियन्त्रण गर्न सरकार र नागरिक समाज डटेर लाग्नुपर्छ । ’

सुुर्तीले प्रजनन् क्षमता, यौन चाहना, यौवनामा प्रत्यक्ष असर गर्ने भएकाले परिवारमा असन्तुष्टि बढ्ने मात्रै नभइ विखण्डन गर्ने सम्मको खतरनाक कुरा आएकाले सम्वन्धित निकायले नाम मात्रको अभियान चलाउने परम्परालाई अन्त्य गर्नुपर्ने धारणा संयोजक चवालको रहेको छ ।

नेपालमा वर्षेनी ७ हजारलाई क्षयरोगी र २७ हजारलाई क्यान्सर रोगी बनाउने सुुर्ती र धुम्रपानकै कारण एकवर्षमा १५ हजार नेपालीको मृत्यु हुने गरेको दृष्टान्त पनि उनले प्रस्तुत गरिन् ।

सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन कार्यान्वयनमा सरकारी उदासिनता र सेवनकर्ताको हेलचक्र्याइँकै कारण वर्षेनी अन्दाजी १० अर्व रुपैयाँभन्दा वढी धुवाँमा उड्ने गरेको छ । आन्तरिक राजश्व कार्यालयका अनुसार सरकारले सालाखाला वर्षेनी ५ अर्व रुपैयाँ सुर्तीबाट कर उठाउने गर्दछ । एक अध्ययनअनुसार सुर्तीकै कारण हुने नसर्ने रोगको उपचारमा १५ अर्वभन्दा वढी खर्च हुने गर्दछ ।

डेमोग्राफिक हेल्थ सर्भे २०११ अनुसार ५२ प्रतिशत पुरुष र १३.३ प्रतिशत महिला सूर्तिजन्य पदार्थ सेवन गर्दछन । पुरुषमध्ये ३०% ले चुरोट र ३८% सुर्ति (खैनी, पराग) सेवन गर्दछन भने महिलामध्ये ९% ले चुरोट र ६% ले सूर्ति (गुुट्खा, पानपराग ) सेवन गर्दछन ।

सञ्जाल संयोजक रत्नश्वरी चवालले नेपालका ५% गर्भवति महिला र ७% बच्चालाई दुध खुवाउने महिलाले चुरोट खान्छन भने ४% गर्भवति महिला र ६% दुध खुवाउने महिलाले सूर्ति सेवन गर्दछन भने प्रतिवेदनले हामीलाई जिस्क्याइरहेको बताइन् ।

५१% भन्दा वढी नेपालीको मृत्यु सुुुर्ती सेवनका कारण उत्पन्न हुने नसर्ने रोगवाट हुने गरेको पनि उनले बताइन् ।दम,खोकी, क्यान्सर, मुुटुरोग जस्ता नसर्ने रोगको कारण सुुर्ती सेवन भएकाले यसलाई न्यूनीकरण गर्न सरकारी र जनस्तरबाट अभियानचलाउनुु पर्ने उनको ठम्याइ छ ।

सञ्जालका संयोजक चवालले सुर्तीले जनस्वास्थ्यमा पार्ने नकारात्मक असरका बारेमा जनचेतना अभिवृद्धि गर्ने, पाठ्यपुस्तकमा सुर्तीजन्य पदार्थ, क्षयरोग, क्यान्सरलगायतका रोगहरु लाग्दछ भन्ने सचेतनामुलक पाठलाई निरन्तरता दिइ विद्यालयतहमा नै व्यवहार परिवर्तन गराउने रणनीति बनाइनुपर्ने बताइन् ।

अप्रत्यक्ष धुम्रपान अर्थात अरुले गर्ने धुम्रपानबाट पनि १०० मीटर वरपरसम्मउत्तिकै असर गर्ने भएकाले धुम्रपान नगर्नेहरुको अधिकार रक्षा गर्न जनजागरण अभियान आवश्यक रहेको उनको ठम्याइ छ ।

सुर्ती सेवनले प्रजनन् स्वास्थ्यमा समेत असर गर्ने, शरीरको स्वरुपविग्रिने, छालामा चमकता हट्दै गइ चाउरी पर्ने लगायतका कुरा जनतालाई थाहादिएको खण्डमा भविष्यका कर्णधार युवाहरुको भविष्य राम्रो भइ देशलाई योगदान पुग्ने बताए ।

No comments

Powered by Blogger.