Header Ads

प्रचण्ड बुरुक्क उफ्रिएः ओली

७ पुस, सर्लाही ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जस्तोसुकै अवरोध पन्छाएर भए पनि माघ ८ गते मुलुकमा नयाँ संविधान जारी हुने दाबी गरेका छन् ।

सोमबार सर्लाहीको हरिवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले सहमति सम्भव नभए प्रक्रियाबाटै नयाँ संविधान जारी हुने दाबी गरेका हुन् ।


“भरसक सहमतिको अन्तिम प्रयास गर्छौं,” उनले भने, “नभए प्रक्रियाबाटै भए पनि मुलुकलाई नयाँ संविधान दिनेछौँ ।”

सहमतिबाटै मात्र संविधान बनाउनुपर्छ भन्नेलाई प्रतिप्रश्न गर्दै ओलीले भने, “संसारमा सर्वसम्मतिबाट संविधान जारी भएको उदाहरण कहाँ छ ? सहमतिबाटमात्रै बनाउनुपर्ने भए दुई÷तीनजना नेता बसेर गरे भइहाल्थ्यो नि, संविधानसभाको निर्वाचन किन गर्नु पर्‍यो ?”

एनेकपा माओवादी नेतृत्वको २२ दलीय मोर्चा संविधान आउन नदिनकै लागि गठन गरिएको आरोप लगाउँदै अध्यक्ष ओलीले कसैको आन्दोलन, रक्तपात जस्तो धम्कीको कुनै अर्थसमेत नरहेको बताए ।

“हामी त सहमतिकै पक्षमा छौँ र त्यसअनुसार नै अगाडि बढिरहेका छौँ”, उनले भने – तर कमिलाले टोक्यो कि के हो, एमाओवादी अध्यक्ष त बुरुक्क उफ्रन थाल्नु भयो।”

हेलिकप्टरबाट सर्लाही पुगेका अध्यक्ष ओली हरिवनमा हुने पार्टीको सर्लाही जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरेका थिए । रासस
nepaliheadlines

No comments

Powered by Blogger.